Sunday, August 4, 2013

कर्मभूमि नेपाल



दैनिक १ हजार २ दुई ६० जना बलियाबांगा युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो भएर रोजगारका लागि मुलुक छाड्छन् । त्यो पनि न्यून आय हुने काममा । अझ चोर बाटोबाट विदेशिनेको संख्या वैदेशिक रोजगार विभागको तथ्यांकबाहिरै छ । स्वदेशमा आम्दानीको कुनै बाटो नदेखेर विदेशिने मुलुकको युवा श्रमशक्ति ३५ लाख नाघिसकेको अनुमान छ ।

ठीक यहीँनिर कतिपय विदेशी भने नेपालकै माटोमा बेग्लै नाम र दाम कमाइरहेका छन् । संख्यामा थोरै नै किन नहुन्, यसरी नेपाली माटोलाई श्रम, ज्ञान र सीपले सिँगार्ने यी पौरखीहरूले दिएको स्पष्ट सन्देश हो, गर्न सके नेपालमै सबै थोक छ ।


नेपाललाई कर्मभूमि बनाएका यी विदेशीहरूले व्यावसायिक खेती प्रणाली, बीउबिजन, जैविक -अग्र्यानिक) मल र उत्पादनमार्फत यहाँ रहेको अथाह सम्भावनालाई उजागर गरिदिएका छन् । कामको खोजीमा छटपटाइरहेका तन्नेरीहरूका निम्ति पशुपालन, दुग्धजन्य उत्पादन, तरकारी खेती, फलफूल, जडीबुटी प्रशोधन, नर्सरीलगायतका क्षेत्रमा यी पात्रहरूले भित्र्याएका नयाँ नयाँ प्रविधि र समर्पण गतिलो उदाहरण हुन सक्छ । यदि दिनहँु विदेशिने नेपालीले जाँगर चलाउने हो भने हाम्रा डाँडापाखामा अग्र्यानिक खेतीको क्रान्ति आउन सक्छ । दह्रो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणका साथै जीवनस्तरमा आमूल सुधार हुन सक्छ । प्रश्न उब्जेको छ, विदेशीहरूले त यहाँ काम गरिरहेका छन्। तर, हामीचाहिँ आफ्ना लागि के गरिरहेका छौँ ?

जैतुन लभर

नेपाली माटोमा १८ वर्षसम्म एकोहोरो परिश्रम

हर्टमुट बउडर/जर्मनी

काम ः जैतुन खेती र अल्पाकासा पालन

स्थान ः  विशंखेल, मकवानपुर

क्षेत्रफल ः १६० रोपनी

लगानी ः चार करोड रुपियाँ

सातदोबाटोबाट दक्षिण लागेपछि आउँछ, पुरानो र शान्त नेवारी वस्ती थैव। त्यसैको उत्तरी छेउमा २० रोपनी क्षेत्रफलमा फैलिएको कम्पाउन्ड छ। २८ वर्षदेखि त्यही घर-कम्पान्डभित्र बस्दै आइरहेका छन्, जर्मन नागरकि हर्टमुट बउडर।

केही जैतुन -ओलिभ)का रूख र हरियो दूबोमा चररिहेका झन्डै ऊँटजस्तै लाग्ने दक्षिण अमेरिकी घरपालुवा जनावर अल्पाकासाका बथानहरूसँग खेलेर उनी दिन बिताउँछन्। जर्मनीको सुविधा र म्युनिख युनिभर्सिटीबाट अर्थ प्रशासनमा स्नातकोत्तर गरेको प्रमाणपत्र उनका लागि कहिल्यै प्राथमिकताका विषय बनेनन्। उनलाई नजिकबाट चिन्नेहरूका भनाइमा उनी जैतुनका 'क्रेजी लभर' हुन्। र, यही प्रेमले उनलाई नेपालमा बसाइरहेको छ।

युनिभर्सिटीको पढाइ सकेर अन्तर्राष्ट्रिय विषादी कम्पनीमा काम थालेका बउडर सन् १९७७ मा कम्पनीकै काममा भारत खटिए। त्यसअघि सन् १९७३ मा घुम्नकै लागि उनी काठमाडौँ आइसकेका रहेछन्। त्यतिखेरै हो, उनी काठमाडौँको वातावरण, प्राकृतिक सौन्दर्य र मौसमसँग लोभिएका।

सन् १९९५ मा कम्पनीबाट अवकाश पाएपछि बउडर सोझै नेपाल आए। उनको मनमा कृषिकर्मप्रति बिछट्टै आकर्षण थियो। उनले हेर्दाहेर्दै भारतमा कृषिका लागि अन्तर्राष्ट्रिय लगानी भित्रिएको थियो। आन्तरकि बजारको खपतका लागि अरू देशको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भयो, हरेक दिन भारतबाट तरकारी बोकेर सातवटा बोइङ् ७४७ हवाईजहाज युरोपका बजार छिर्न थाले। त्यसपछि त उनलाई लाग्यो, भविष्य त कृषिमा पो छ।

त्यतिबेलै भारतीयहरू जैतुनको तेल -ओलिभ आयल)का लागि विदेशी बजारमा निर्भर थिए। उनले नेपाल आएपछि सोचे, जैतुनकै खेती किन नगर्ने ? र, त्यही अनुरूप जैतुन खेतीका इटालियन विज्ञहरू भेटे, फ्रान्सको दक्षिण भेगको जैतुन खेतीका बारेमा प्रशस्त ज्ञान बटुले।

सन् १९९५ मा जैतुन खेतीका लागि जग्गा हेर्न काठमाडौँका डाँडाकाँडा चहारे उनले। साना खेत र धेरै मानिसको स्वामित्वले उनलाई निराश बनायो। खेतीका लागि चाहिने जग्गा नै कहाँ छ र ? महिनौँ चहारेपछि उनले मकवानपुरको विसंखेलमा झन्डै १९ रोपनी जग्गा लिए। सम्झन्छन्, "२५ जना जग्गाधनीलाई गाडीमा राखेर हेटौँडा लगेर जग्गा पास गर्दा ठूलो हूल नै भएको थियो।" त्यसको एक वर्षपछि उनले इटाली र फ्रान्सबाट ल्याइएका जैतुनका बिरुवा रोपे। प्रत्येक वर्ष जग्गा थप्दै गए। भन्छन्, "विदेशी मान्छे भनेर गाउँलेहरू जग्गाको अस्वाभाविक मूल्य राख्थे। जबकि, म नेपालीकै लागि केही गर्न चाहन्थेँ।"

सबै गरेर उनले १ सय ६० रोपनी क्षेत्रफलमा २ हजार ३ सय बिरुवा लगाएका छन्। सबैभन्दा राम्रो उत्पादन कुन प्रजातिबाट हुन्छ भनेर परीक्षणका लागि यहाँ विभिन्न १५ प्रजातिका बिरुवा लगाइएका छन्। अहिले त्यहाँका दुईतिहाइ बिरुवाले उत्पादन दिन थालिसकेका छन्। जैतुन रोपेको जग्गाको दुई भिन्नाभिन्नै प्लटको नामसमेत इटालीका सुन्दर गाउँबाट प्रभावित भएर टोस्कना र भिन्ची राखेका छन् उनले। त्यहाँ १५ जनाले जागिर पाएका छन्।

सुरुसुरुका दिन बउडर दिनभर खेतमा काम गर्थे र साँझ लखतरान परेर थैव फर्कन्थे। आफ्नो बारीमा काउली र मूला मात्रै उमारेका किसान जैतुनका बिरुवा देखेर छक्क पर्थे रे ! जैतुनमै बउडरले अहिलेसम्म झन्डै चार करोड रुपियाँ लगानी गरसिकेका छन्। उनको भनाइमा जैतुनमा लगानी गर्नु भनेको १० पुस्तासम्मका लागि हो। भन्छन्, "दुई हजार वर्षसम्म बाँच्ने रूखबाट दसौँ पुस्तासम्मले लाभ लिन सक्छ।"

आठ वर्षदेखि यहाँ जैतुनको तेल उत्पादन भइरहेको छ। अघिल्लो वर्ष मात्रै उनले झन्डै दुई टन जैतुन उत्पादन गरेका थिए। उनको अनुमानमा नेपालमा मात्रै वाषिर्क पाँच हजार लिटर जैतुनको तेल आयात हुने गरेको छ। भन्छन्, "नेपाली बजारको माग मात्रै धान्न सकियो भने पनि ठूलो कुरा हो।" उनले हङ्कङ्, ताइवान र जापानमा जैतुनको तेल निर्यात गर्न थालिसकेका छन्। युरोपेली बजारमा यसको ठूलो माग छ।

जैतुनको तेल व्यावसायिक रूपमा उत्पादन गर्ने लक्ष्यका साथ उनले हिमालयन प्लान्टेसन प्राइभेट लिमिटेड नामक संस्था नै स्थापना गरेका छन्, जसमा उनले ८० प्रतिशत र अरू चार जना नेपालीले २० प्रतिशत लगानी गरेका छन्। नेपालीले नामै नसुनेका, देख्दै नदेखेका अरू धेरै वनस्पति पनि उनले नेपाल भित्र्याइसकेका रहेछन्। उनको बारीमा रहेका ५० वटा मेकाडेमिया नट त्यसैका प्रम्ााण हुन्। नट त फल्यो तर त्यसलाई कसरी फुटालेर खाने ? त्यही भएर उनले न्युजिल्यान्डबाट नट फुटाल्ने मेसिनसमेत झिकाएका रहेछन्।

सन् १९९८ मा उनले पहिलोपटक चिलीबाट पाँचवटा अल्पाकासा ल्याएर पाले, जसको संख्या अहिले १५ वटा पुगिसकेको छ। ऊँटजस्तै देखिने अल्पाकासालाई उनी हरेक १५ दिनमा पाँच किलो स्याउ र गाँजर खुवाउँछन्। युरोपेली बजारमा वयस्क अल्पाकासाको कम्तीमा दुई हजार युरो पर्छ। पस्मिनाभन्दा गुणस्तरीय ऊनका लागि अल्पाकासा विश्वप्रसिद्ध छ। केही वर्षअघिसम्म उनले दोलखाको जिरीमा तीन वर्षसम्म अल्पाकासा पालेका रहेछन्।

उनले घरैमा पालेका अल्पाकासाबाट प्रतिवर्ष पाँच किलो ऊन उत्पादन गरेर युरोप र बेलायत निर्यात गररिहेका छन्। उनका अनुसार एउटा अल्पाकासाको ऊनबाट बनेको ब्ल्याङ्केटको युरोपेली बजारमा झन्डै २५ हजार अमेरकिी डलर पर्छ। बउडर नेपालमा सिँचाइ र उचित व्यवस्थापन गर्न सकियो भने कृषि क्षेत्रबाट धेरै प्रगति गर्न सकिन्छ भन्नेमा विश्वस्त छन्। भन्छन्, "सधँै सरकारको मुख ताकेर मात्रै हुँदैन।" १८ वर्षको अथक परश्रिमबाट बउडरले निकालेको निष्कर्ष एउटै छ, "नेपालमा जैतुनको व्यावसायिक खेती सम्भव छ।"



फ्रान्सेली चिज मेकर

भारतका तारे होटलबाट समेत चिजको माग

फ्रान्स्वा डाइहार्ट/फ्रान्स

काम ः चिज उत्पादन

स्थान ः टोखा, काठमाडौँ

क्षेत्रफल ः ६ हेक्टर

लगानी ः उपलब्ध नभएको

पहिलोपटक नेपाल आउँदा फ्रान्सेली तन्नेरी फ्रान्स्वा डाइहार्ट, ३१, ले केही दिन घुमौँला र पुरानै काममा फर्कौंला भन्ने मात्र सोचेका थिए। तर, उनको मन काठमाडौँले अचम्मसँग खिच्यो। त्यत्तिकै कसरी बस्ने ? त्यसको उत्तर फेला पारे उनले, गाई पाल्ने, चिज बनाउने, बेच्ने र धेरथोर कमाउने।

विजनेस विक र मियामी हेराल्डजस्ता पत्रिकाका आर्थिक संवाददाता थिए उनी। विकासशील मुलुकहरूमा लगानीका सम्भावना विषयमा विभिन्न रिपोर्टहरू तयार पारेरै उनले एक दशक बिताए। चिज एकदमै रूचाउँथे उनी। तर, जागिरे व्यस्तताले गर्दा चिज बनाउने सिप सिक्ने पर्याप्त समय पाएनन् उनले। एकदिन त्यो व्यस्तता छाडेर निस्किए। भन्छन्, "सहरमा बस्ने, बिहान अफिस धाउने र साँझ र्फकने काम मलाई कत्ति मन परेन।"

फ्रान्स्वाले हिमालयन फ्रेन्च चिज नामक कम्पनी स्थापना गरेका छन्, काठमाडाँैको टोखामा। जग्गा भाडामा लिएपछि सन् २००७ मा टोमी डी सेभई नामको हल्का कडा चिज बनाउने परम्परागत सिप सिक्न उनले फ्रान्सका पहाड घुमे।

सुरुमा उनले गाउँलेहरूबाट दूध किनेर चिज बनाएका थिए। तर, दूध राम्रो नभएपछि टोखामा ६ हेक्टर जग्गा भाडामा लिए। बाँसको खपटाले गोठ बनाए, त्यहाँ २० वटा गाईका साथै ६ वटा बाख्रा, २० वटा लोकल हाँस, भेडा, खरायो र बंगुर पाले।

टोखाको चिसो हावा र गाउँले वातावरणका कारण सुरुका दिनमा उनी हौसिएका थिए। तीन वर्ष गाई पालेपछि भने उनी विरक्तिए। अहिले उनको गोठमा गाई छैनन् तर चिज उत्पादन भने जारी छ।

उनी टोखावरपरका स्थानीयबाट दैनिक औसत दुई सय लिटरसम्म दूध किन्छन् र चिज बनाउँछन्। दिनहुँ २० किलोजति चिज उत्पादन भइरहेको छ। उनले आफ्नो फार्ममा ६ जनालाई रोजगारी दिएका छन्। हिमालयन चिज काठमाडौँकै स्थानीय बजारमा खपत हुन्छ। भारतका तारे होटलबाट समेत चिजको माग हुन थालेको उनी सुनाउँछन्।

परम्परागत फ्रान्सेली विधिबाट बनाइएको चिजको स्वाद असली हुने उनको भनाइ छ। भन्छन्, "नेपालीहरू भात मात्रै खान्छन्, फ्रान्सेलीहरू भने पाउरोटी र चिज खाएर हुर्कन्छन्।" फ्रान्स्वालाई धेरैले सोध्छन्, किन त्यस्तो धनी र सम्पन्न देश छाडेर नेपाल आएको ? किन यस्तो दुःख गर्नुपरेको ? उनीसँग तिनका लागि दिने तयारी जवाफ छ, "काम गरेर खान आएको।" उनको उत्तर सुनेर मान्छे छक्क पर्छन्। उनी हाँस्दै भन्छन्, "खासमा नेपालमा म आनन्द खोज्न आएको हुँ।" ध



"एभि्रथिङ्’ नर्सरी

हरियो मन, हरियो खुसी र हरियो हृदय

जिम डेनिस र जुडिथ चेज/अमेरिका

काम ः नर्सरी

स्थान ः पात्लेखेत, काभ्रे

क्षेत्रफल ः ४१ रोपनी

लगानी ः एक करोड रुपियाँ

धु लिखेलबाट नागबेली बाटो हुँदै अगाडि बढेको बीपी राजमार्ग झन्डै १५ किलोमिटर छिचोलेपछि कालोपत्रे सडक छोडेर एउटा सानो उबडखाबड बाटो उकालो चढ्छ। सुनसान गाउँमा ढुंगाले बनेको चिटिक्कको घर छ। त्यसैमा बस्छन्, अमेरिकी दम्पती जिम डेनिस, ७१ र जुडिथ चेज, ७४। उनीहरूको घर भने ४१ रोपनीमा फैलिएको नर्सरीले घेरिएको छ।

चार वर्षअघिसम्म यो डाँडो फुंग थियो। स्थानीय किसानले बारीको केही पाटामा कहिले मकै लगाउँथे, कहिले धान फलाउँथे। पसिना त कति बगाउँथे कुन्नि तर उत्पादनले उनीहरूलाई वर्षभरि खान कहिल्यै पुगेको थिएन। अहिले त्यही डाँडो वर्षैभरि हरियो देखिन्छ। र, यसको पछाडि तिनै अमेरकिी दम्पतीको पसिना, बुद्धि र लगानीले काम गरेको छ। उनीहरूले त्यसको नामै दिएका छन्, एभि्रथिङ् नर्सरी अर्थात् सबै थोक पाइने। यहाँ पाँच सयभन्दा बढी प्रजातिका बोटबिरुवा छन्। उनीहरू यहीँ फलेको खान्छन्, शरीरले साथ दिएसम्म बोटबिरुवा सुमसुम्याउँछन् र आफ्नो प्रेम तिनैमा पोख्छन्।

के छैन यो नर्सरीमा ? युरोपेलीदेखि अमेरिकी जातका स्याउ रातै फलिरहेका छन्। अमेरिकी र जापानी जातको कालो अंगुर, हरियो जातको युरोपेली अंगुर, तीन-चारथरीका अल्मोन्ड -कागजी बदाम), त्यति नै प्रजातिका नास्पाती, क्यालिफोर्नियाबाट बीउ मगाएर उमारएिको चेरी, मेक्सिकन एभोकार्डोर्। बारीमा मुन्तलादेखि जुनारसम्म, अनारदेखि स्ट्रबेरीसम्म फलिरहेका छन्। र, फुलिरहेको छ, सूर्यमुखी पनि। जुडिथ भन्छिन्, "नर्सरीमा सकेसम्म सबै प्रजातिका फलफूल फलाउने मेरो सपना हो।"

यो जोडीको नेपाल साइनो नयाँ होइन। फाइन आर्टसमा स्नातकोत्तर यी दुवैले बैँसका बेला अमेरिकीकै कलेजमा वर्षौंसम्म प्राध्यापन गरे। सन् १९७५ मा घान्द्रुक आएकी जुडिथ र १९७९ मा अन्नपूर्ण सर्किटको पदयात्रा गर्न आएका जिमले १९८४ मा नेपालमै बिहे गरे। त्यसपछि जुडिथ एक गैरसरकारी संस्थाको जागिरे भएर १० वर्षसम्म यहीँ रहिन्। जागिर सकिएपछि भने भक्तपुरको गाम्चामा २० रोपनी जग्गा भाडामा लिएर अग्र्यानिक तरकारी खेतीमा लागिन्। भन्छिन्, "त्यतिखेर धेरै नेपालीका निम्ति अग्र्यानिक शब्द नै अनौठो थियो।"

१० वर्षसम्म तरकारी खेती गरेर दुवै अमेरिका फर्के। १३ वर्ष उता बसेपछि यिनीहरू दिक्क भए। जिम भन्छन्, "अमेरिकाको जीवन सजिलो छैन, आफ्ना सबै काम आफैँले गर्नुपर्छ, दौडधूप धेरै छ।" त्यसपछि उनीहरू नेपाल फर्के। पात्लेखेतको डाँडो भाडामा लिए, केही जमिन किने र नर्सरीको काम थाले, जुन अहिले फस्टाइरहेको छ। यिनलाई काममा सघाइरहेका छन्, विनोद पुरीले। पुरीका साथै फार्ममा १४ जना कामदारले रोजगारी पाइरहेका छन्।

उनीहरूको पूर्णतया अग्र्यानिक नर्सरीबाट फलफूल, तरकारी र बेर्नाहरू बिक्री हुन्छ। बाहिरबाट ल्याइएका र रैथाने फलफूलका बिरुवा क्रस गरेर माटो सुहाउँदो बिरुवा हुर्काइरहेका छन् उनीहरूले। जस्तो ः  क्यालिफोर्नियाबाट मगाइएको चेरीलाई उनीहरूले रैथाने पैयूँसँग क्रस गराएका छन्। उनीहरू बिरुवाको कीरा प्रतिरोधात्मक शक्ति बढाउने, कीरा भगाउने र वनस्पतिलाई रोगबाट जोगाउने अनेकन् प्रयोग सँगसँगै गररिहेका हुन्छन्।

जुडिथ दम्पतीलाई अब पैसा कमाउने इच्छा छैन। त्यही भएर त उनीहरू आफ्नो नर्सरीमा खेती प्रविधिबारे हरेक महिना किसानहरूलाई तीन दिनको निःशुल्क तालिम दिन्छन्। अहिलेसम्म झन्डै १ हजार ५ सयभन्दा बढी किसानले उनीहरूबाट तालिम लिइसकेका छन्। इच्छुकलाई उनीहरू इन्टर्नसिपको व्यवस्था पनि मिलाइदिन्छन्।

सिंगो नेपाल नै अग्र्यानिक होस् भन्ने यो जोडीको हार्दिक इच्छा रहेछ। जुडिथलाई हरियो मन, हरियो खुसी र हरियो हृदय चाहिन्छ रे! कतिसम्म भने खाली डाँडा देख्नेबित्तिकै त्यसलाई हरियो बनाउने इच्छा जागिहाल्छ उनलाई। भन्छिन्, "रसायन र विषादीको बढ्दो प्रयोगले अमेरिकामा मौरी नै बाँच्न छाडिसके। यहाँ पनि कुनै दिन त्यस्तै हुन सक्छ।"



अग्र्यानिक अभियान

जडीबुटी उत्पादन र प्रशोधन क्षेत्रका नमुना

पिटर एफेनबर्जर/जर्मनी

काम ः जडीबुटी खेती

स्थान ः सत्रसय फाँट, तनहुँ

क्षेत्रफल ः १८३ रोपनी

लगानी ः एक लाख युरो

ज र्मनीको सान-सौकत र भुलभुलैया छाडेर १५ वर्षदेखि नेपालमै छन्, पिटर एफेनबर्जर, ५४। पत्नीसँगको पारपाचुकेपछि सन् १९९६ मा उनी पर्यटकका रूपमा यहाँ आएका थिए। उनी के कुरामा निश्चिन्त थिए भने हिमालयको देशमा पुगेपछि शान्ति मिल्छ।

नेपाल आएर बसेको केही समयमै उनको दिल एक चिलियन महिलासँग मिल्यो। उनैलाई बिहे गरे र सधैँका लागि यतै बस्ने निष्कर्षमा पुगे। जर्मनीको विश्वविद्यालयमा ट्रपिकल तथा सब-ट्रपिकल क्षेत्रको कृषिसम्बन्धी पढाइ सक्नासाथ उनी जर्मनीको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग -जीआईजेड)मा केही वर्ष जागिरे भए। र, स्नातकोत्तर पढ्न बेलायत हान्निए।

त्यतिबेला बेलायतभरि अग्र्यानिक कृषि क्रान्ति सुरु भएको थियो। उनले त्यही विषय रोजे। जहाँ कृषिमा पूर्वीय र पश्चिमा दुवै शैलीका बारेमा अनुसन्धान हुन्थ्यो। खाद्यान्नको महत्त्व र यसको प्रभावबारे पिटर सानैदेखि अवगत थिए। किनभने, उनले एसिया र अफ्रिकामा भएको भोकमरीका थुप्रै कथा सुनेका थिए।

अग्र्यार्निक कृषि पढेका र जानेका पिटर त्यही काम नेपालमा गर्न चाहन्थे। त्यसका पछाडि नेपालमा भइरहेको अन्धाधुन्द विषादीको प्रयोग र खेतीप्रणालीको रैथाने तरिकाबाट कहिल्यै माथि उठ्न सकिन्न भन्ने निष्कर्षले पनि काम गरेको थियो। भन्छन्, "यति धेरै जैविक विविधता भएको देशका किसान हातमुख जोड्न धौधौ पर्ने अवस्थामा हुनु आफैँमा दुःखद कुरा हो।"

सन् १९९७ मा एक नेपालीसँग मिलेर उनले वन वल्र्ड नामक संस्था दर्ता गरे। त्यसपछि विषादीको प्रयोग नै नगरिएको र पानीको पर्याप्त सुविधा भएको जग्गाको खोजीमा उनी अनेक ठाउँ भौँतारिए। अन्तमा तनहुँ र गोर्खाको सिमाना छुट्याएर बग्ने मस्र्याङ्दी खोलाको छेउमा झन्डै १ सय ८३ रोपनी जग्गा भाडामा लिए। जग्गा लिएको एक वर्षसम्म त उनले के खेती गर्ने भन्ने सोचमै बिताए। त्यसपछि उनी कालो तिल, कसुर, तुलसी, अदुवा, सतावरी, अमला, निम, कपुर र मेन्थाजस्ता जडीबुटीको खेती गर्ने निष्कर्षमा पुगे।

बौद्धमा बस्ने पिटर अहिले तिनै जडीबुटीको उत्पादनलाई प्रशोधन र प्याकेजिङ् गर्ने अनि विदेश निर्यात गर्ने काममा व्यस्त छन्। वाषिर्क एक टनसम्म जडीबुटी उत्पादन र निर्यात गररिहेका छन् पिटर, जसमा १० विभिन्न स्वादका चिया र आठ प्रकारका जडीबुटी समाविष्ट छन्।

युरोपेली बजारमा नेपालको उत्पादन बेच्नु सजिलो छैन। पिटर भन्छन्, "त्यसका लागि अन्तर्राष्ट्रिय बजारले खोज्ने गुणस्तरीय उत्पादन र त्यसको प्रमाण पेस गर्नुपर्छ।" तर, उनले युरोपबाट अग्र्यानिक मापदण्डको प्रमाणपत्र लिइसकेका छन्। झन्डै एक दशक लामो कृषिकर्मको यात्रामा उनले आफ्नो उत्पादनलाई युरोपको बजारमा चिनाइसकेका छन्। भन्छन्, "जर्मनी र अस्टि्रयामा हामी राम्रै ग्राहक कमाइरहेका छौँ।"

जडीबुटी उत्पादन र प्रशोधनमा १५ जना नेपालीले रोजगारी पाइरहेका छन्। सिजनमा उनीकहाँ काम गर्नेको संख्या ३० सम्म पुग्छ। केही वर्षयता भने उनी चितवनका स्थानीयसँग मिलेर तुलसी खेती गररिहेका छन्। एक सहकारी संस्था अन्तर्गत ६ सय परविार किसान १० हजार रोपनीमा तुलसी खेतीमा संलग्न छन्। त्यस तुलसी खेतीको परयिोजनामा भने उनलाई जर्मन सरकारले सघाइरहेको छ।

पिटर कहिले तनहुँको फाँटमा खेती हेर्न पुग्छन् त कहिले चितवनमा तुलसी लिन पुग्छन्। बचेको समय उनी कसरी युरोपका बजारमा आफ्नो उत्पादन बेच्ने, आकर्षक प्याकेजिङ् कसरी गर्ने र व्यापारको रणनीति कसरी तय गर्ने भन्ने योजना तयार गरेरै बिताउँछन्। पाँचवर्षे बिजनेस भिसामा नेपाल बसिरहेका पिटर नेपालको माटोमा अपार सम्भावना देख्छन् र उनीसँग धेरै योजना पनि छन्। तर, थोरै पैसाका लागि नेपाली तन्नेरीहरू विदेश गइरहेको, बूढाबूढीले घर रुँगेर बसिरहेको र खाद्यान्नका लागि परनिर्भरता बढिरहेको देखेर उनी दुःखी छन्।

नेपालको रैथाने कृषि प्रणाली देखेर उनी अचम्ममा परेका छन्। उनको बुझाइमा यहाँ परविारको संख्या र जग्गाको आकारबीच तालमेल छैन। थोरै जग्गामा धेरै उत्पादन लिने होडमा धेरै विषादीको प्रयोग गर्ने चलन बढेको छ। त्यसले माटोको उत्पादन शक्ति घटाउँदै छ। त्यही भएर नेपालको माटोलाई कसरी अग्र्यार्निक बनाउने भनेर उनले धेरै समय खर्चिएका छन्। "विश्वकै सबैभन्दा जैविक विविधता भएको देश हो यो," उनी भन्छन्, "तर, गर्न बाँकी काम धेरै छन्।"



जापानी जाँगर

मिसावटरहित र अग्र्यानिक कफी उत्पादनमा सक्रिय

इकोसिया हिदेफुसा/जापान

काम ः कफि खेती

स्थान ः पुतलीबजार, स्याङजा

क्षेत्रफल ः ८५ रोपनी

लगानी ः ५० लाख रुपियाँ

६ वर्षअघि नेपाल घुम्न आउँदा पोखराको एक होटलमा कफी सुर्काउँदै थिए, जापानका इकोसिया हिदेफुसा, ३१। पेसाले मेकानिकल इन्जिनियर उनले त्यहीँ सुने, छिमेकी स्याङ्जा जिल्लाको नाम र कफी कृषिका कुरा।

कफी खेती हेर्ने लोभले उनी स्याङ्जा पुगे। किसानसँग भेटे। उत्पादन प्रणालीबारे सोधीखोजी गरे। त्यही मेसोमा उनले भेटे, पुतलीबजारका किसान बोधराज अर्याललाई। केही दिन अर्यालकै घरमा बसेर जापान फर्केका इकोसियाको मन उता अडिएन। तीन महिनापछि नै नेपाल फर्केर अर्यालसँगै कफी खेतीमा होमिए।

चार वर्षसम्म स्थानीय किसानसँग मिलेर कफी बारीमा काम गरेका इकोसिया अहिले जापानमा कफी निर्यात गर्छन्। वर्षको ६ महिना साँझ-बिहान नभनी काम गर्ने उनी अर्को ६ महिना कफी बेच्न जापानतिर दौडिन्छन्।

अहिलेसम्म कफी खेतीका लागि यहाँ करबि ५० लाख रुपियाँ खर्चिसकेका छन्। हरेक वर्ष पाँचदेखि सात टनसम्म कफी जापानमा लैजान्छन् उनी। कफी जापान पुर्‍याउँदा एक करोड रुपियाँ त निर्यात खर्च नै हुन्छ उनको। बिक्रीबाट भने उनले वाषिर्क डेढ करोड आम्दानी गररिहेका छन्। भन्छन्, "तत्काल फाइदा कमाउने लोभमा मिसावट गरी कफी निर्यात गर्ने प्रवृत्ति बढेकाले नेपाली कफी खेतीमा असर पर्ने डर पनि छ।"

सुरुको वर्ष इकोसियाले स्थानीय उत्पादन नै जापान लगेर बेच्ने पहल गरे। तर, धेरैथरी किसानको कफी फरक-फरक स्वादको हुने भएपछि उनी आफँै कफी उत्पादनमा होमिए। गत वर्ष अर्यालसँग सहकार्य गरेर उनले ७० रोपनी भाडाको जग्गामा कफी खेतीको सुरुआत गरेका छन्। उनले १५ रोपनी जग्गामा कफी नर्सरी बनाएको त ६ वर्ष बितिसक्यो, जहाँ तीन जनाले रोजगारी पाएका छन्।

इकोसिया खेतमा आफैँ खटिन्छन्, कुटो-कोदालो चलाउँछन्, पसिना बगाउँछन्। उनले आफू मात्रै खेतीको तौरतरिका सिकिरहेका छैनन्, स्थानीयलाई पनि सिकाइरहेका छन्। उनलाई खेती अझै बढाउने मन छ।

इकोसिया बिहान उठ्नासाथ कफी बारीमा गोडमेल गर्छन्। अरू किसानको कफी बारीमा पुग्छन् र काम सघाउँछन्। अर्याल भन्छन्, "उनको परश्रिम र कामप्रतिको लगाव देखेर हामी पनि छक्क पर्छौं।" फुर्सदका बेला भने उनी इन्टरनेटमा झुत्तिन्छन्, कफीको अन्तर्राष्ट्रिय बजार हेर्छन्, त्यसको गुणस्तर र खेती प्रविधिबारे ज्ञान बटुल्छन्। भन्छन्, "जापानमा मिसावटरहित अग्र्यानिक नेपाली कफीको माग अत्यधिक छ। त्यहाँ कफी लैजान सक्ने हो भने यहाँका किसानको आम्दानी मनग्गे हुन्छ।"

अहिले उनी स्याङ्जा मात्र होइन, पाल्पा, गुल्मी, अर्घाखाँची, कास्कीलगायत जिल्लामा कफी खेतीको भ्रमणमा जुटेका छन्। विदेशीको काम देखेर धेरै स्थानीय किसानलाई प्रेरणा मिलेको अर्याल बताउँछन्। भन्छन्, "उनीजस्ता पढेका मान्छे यसरी कृषिकर्ममा लाग्दा यो पेसा राम्रो रहेछ भन्ने ठानेको छु।"

- जानु पंगेनी/वालिङ



सपना 'एग्रो टुरिजम’

बेलायतको घरबार छाडेर पोखरामा खेती किसानी

डग्लस हर्बट

म्याग्लेगन /बेलायत

काम ः कृषि उत्पादन र समाजसेवा

स्थान ः  पुम्दीभुम्दी, पोखरा

क्षेत्रफल ः ५२ रोपनी

लगानी ः २० लाख रुपियाँ

- ईश्वरी न्यौपाने/पोखरा

हाफ पाइन्ट लगाएर खेतबारीमा काम र गाईभैँसीको स्याहार गररिहेका गोरा देख्दा धेरैलाई लाग्छ, घुम्न आएका पर्यटक वा विदेशी स्वयंसेवक होलान्। तर, पश्चिम पोखराको पुम्दीभुम्दीमा पसिना बगाइरहेका बेलायती अधवैँसे डग्लस हर्बट म्याग्लेगन, ४८, को पृष्ठभूमि भने बिलकुलै फरक छ।

मध्य लन्डनमा रहेको सानदार घर बेचेर नेपाल आएका रहेछन् डग्लस। बाल मनोविज्ञानमा उच्च शिक्षा अध्ययन गरेका अनि नेदरल्यान्ड्समा शिक्षण र युवा परामर्शकर्ताको जागिर गरेका डग्लस पोखरामा रमाइरहेका छन्, त्यो पनि कृषिकर्ममा।

उनले पुम्दीभुम्दीमा के मात्रै गरेका छैनन् ? बाह्रै महिना उनी यति व्यस्त हुन्छन् कि स्थानीय किसानहरू उनको परश्रिम देखेर छक्क पर्छन्। धान थन्क्याएको केही महिनामै स्थानीय किसानका भकारी रिित्तएर बेसाउन बाध्य छन्। तर, खेतमा नयाँ धान रोपिसक्दा पनि डग्लससँग अझै तीन भकारी धान मौज्दात छ। अरूका घरमा नयाँ मकै भित्रिसक्दा पनि उनको घरमा पुरानै झुत्ता बाँकी छन्। भण्डारमा रहेको कोदो अझै सकिएको छैन। घरमा चाहिने खाद्यान्नदेखि तरकारीसम्म उनी आफँै फलाउँछन्। गाई, भैँसी पालन गरेर दूध, दही र घिउ उत्पादन गर्छन्। भन्छन्, "कहिलेकाहीँ आफ्नो देशको परकिार खान मन लाग्दा बाहेक केही किन्नुपर्दैन।"

दुई दशकअघि पहिलोपटक पर्यटकका रूपमा नेपाल आएका उनलाई पोखराले मोहनी लगायो। अर्को वर्ष आउँदा भने यहाँको उच्च बाल मृत्युदरले मन पोल्यो। त्यसपछि उनको मन बेलायतमा अडिएन। त्यसयता कृषि र समाजसेवाको काममा सक्रिय छन् उनी। स्थानीय महिलासँग घरजम गरेर बसेका छन् डग्लस। उनी पत्नी र दुई छोरीका साथ फार्ममै बनाइएको घरमा बस्छन्।

छोरेपाटनदेखि पाँच किलोमिटर कच्ची सडक पार गरेर पुगिने गाउँमा फुस्रेखोला फार्म हाउस छ उनको। फुस्रेखोलामा १२ रोपनी जमिन लिएको एक वर्षमै उनले गाउँमा पहिलोपटक जर्सी गाई पुर्‍याए। १३ वर्षअघि एकै दिनमा २५ लिटर दूध दिने लक्ष्मी नामको गाईलाई उनका छिमेकीसमेत स्मरण गर्छन्। डग्लसकै प्रेरणाले गाउँमा उन्नत जातका गाई, भैँसी पाल्नेहरूको संख्यामा उल्लेख्य बढोत्तरी भयो। गाउँमै दूध संकलन केन्द्र खोली मोटरमा दूध ओसार्ने व्यवस्था मिलाउने श्रेय पनि डग्लसलाई नै जान्छ, जुन उनले आठ वर्षअघि नै गरेका हुन्।

डग्लस आफू मात्रै तरकारी उत्पादनमा लागिपरेका छैनन्, सिंगो गाउँलाई नै तरकारी र दूध उत्पादन गर्न सिकाएका छन्। बिरौँटाका रतिबहादुर थापा भन्छन्, "सिंगो गाउँ हरियालीले भरिपूर्ण हुनुका पछाडि डग्लसको योगदान छ।"

५२ रोपनीमा फैलिएको उनको फार्ममा आठवटा गाई, भैँसी र दर्जन बाख्रा छन्। भन्छन्, "मासिक ८५ हजार रुपियाँभन्दा धेरै कृषि उत्पादन नै बेच्छु। पाँच जना स्थायी कामदार र अरू मौसमी कामदारको भरमा यति आम्दानी सम्भव भएको हो।"

अरू किसानले जस्तो डग्लस आफ्नो फार्ममा किटनाशक औषधी छर्कंदैनन्। धेरै उत्पादन लिने लोभमा रासायनिक औषधी पनि हाल्दैनन्। अग्र्यानिक उत्पादनकै लागि उनी सातथरी मल बनाउँछन्। र, बिरुवा अनुसारका जैविक किटनाशक मात्र प्रयोग गर्छन् उनी। जस्तो ः डल्ले खुर्सानी उनको फार्मको प्रमुख किटनाशक औषधी हो। भन्छन्, "खुर्सानी धूलो बनाएर माटोमा राख्यो भने आलुमा कमिला लाग्दैनन्। पानीमा झोल बनाएर काँक्रामा छक्र्यो भने कीरा लाग्दैन।"

जनावरहरूलाई घुमफिर र खेल्नका लागि पर्याप्त ठाउँ दिए मात्र प्राकृतिक हुने उनको सोच छ। त्यसैले बाख्रा, कुखुरा र गाई, भैँसीका लागि फराकिलो ठाउँ छ उनीकहाँ। सुन्तला, आँप, केराजस्ता फलफूल बारीवरपिर िबाँस भाङ्गिएको छ। भन्छन्, "रूख भयो भने चराले विभिन्न बीउ ल्याएर फार्मलाई विविधतायुक्त बनाउँछ। जतिसक्दो धेरै वनस्पति वरपिर िहुनुपर्छ, खानेदेखि औषधीसम्म।"

नेपालमा 'एग्रो टुरजिम' -कृषि पर्यटन)को सम्भावना धेरै रहेको मान्छन् उनी र यो उनको सपना पनि हो। पर्यटक आकषिर्त हुने खेतीपातीको प्रक्रियाजस्तै दूध दुहेको, दही मथेको, धान रोपेको जस्ता कृषिकर्म तथा ग्रामीण संस्कृति त्यसका लागि ज्यादै उपयुक्त रहेको उनको भनाइ छ।

स्थानीय बालबालिकाको हितका लागि संस्था चलाउने स्रोत बढाउन उनले अहिले पेभिलियन हिमालयन रसिोर्ट निर्माण थालेका छन्। नेपाली तथा केही विदेशीको साझेदारीमा करबि २५ करोड रुपियाँमा बन्ने रसिोर्टमा फार्मकै उत्पादन उपभोग गर्ने उनको लक्ष्य छ। भन्छन्, "हात थापेर संस्था दिगो हुँदैन। समाजसेवाका लागि नियमित आम्दानी नै गर्नुपर्छ।"

-आवरणसहित तस्बिरहरू ः रवि मानन्धर)



चिनियाँ चमत्कार

टनेलमा तरकारी खेती गर्ने अनौठो शैली

स्याङ् साओ ह्वा र श्रीमती/चीन

काम ः तरकारी उत्पादन

स्थान ः हेम्जा, पोखरा

क्षेत्रफल ः १० रोपनी

लगानी ः १२ लाख रुपियाँ

धान फल्ने पोखराका खेतमा अचेल सेता प्लास्टिकका टनेल -गि्रन हाउस)हरू देखिन्छन् लहरै। अझ हेम्जा गाउँको सापकोटा चोकनजिकैको एउटा टनेल अरूभन्दा भिन्नै छ। टनेलकै छेउमा एउटा सानो जस्ताको झुप्रो छ। त्यहीमुनि एकातिर पकाउने र अर्कोतिर चिसो भुइँमा सुत्नेहरू भने स्थानीय होइनन्। बरू उनीहरू तरकारी खेती गर्न छिमेकी मुलुक चीनबाट आएका कृषक हुन्।

गाउँलेका निम्ति किसानका अचम्मका पात्र भएका छन्, यी चिनियाँ। किनभने, उनीहरू रातभर टनेलमा बत्ती बालेर काम गर्छन्। एकछिन पनि गाउँ-बजार डुल्न निस्किँदैनन्। अरूका कुरा काटेर समय खर्चिंदैनन्। तरकारी फलेपछि मात्र पोखरा बजारतिर बेच्न निस्किछन्।

यसरी पोखराबाट आठ किलोमिटर दूरीमा रोङ् ह्वा गि्रन लिभ्स नामक फार्म खोलेर खेती गर्ने स्याङ साओ ह्वा, २७, हुन्। १० रोपनी क्षेत्रफलमा फैलिएको यो फार्ममा ठूलो आकारका नौवटा टनेल छन्। ०६७ मा पोखरा घुम्न आएको स्याङ् दम्पतीले चिनियाँ तरकारी खान नपाएको र नेपाली किसानले व्यवस्थित खेती गर्न नजानेको रनाहामा यतै बसेर खेती गर्ने सोच बनाएको हो। स्याङ् भन्छन्, "ठाउँ छ तर खेती राम्रो देखिएन। यहाँको मौसम पनि खेतीका लागि राम्रो लाग्यो।"

स्याङ्को फार्ममा उत्पादित तरकारी पोखरामा फस्टाउँदो चिनियाँ रेस्टुराँमा खपत भइरहेको छ। साग, बन्दा, सिमी, मूला, धनियाँ, फर्सी, खुर्सानी, भिँडे खुर्सानीलगायतका तरकारी उत्पादन गर्ने स्याङ् ४० किलोसम्म तरकारी आफ्नै मोटरसाइकलमा हालेर बजारसम्म बेच्न पुग्छन्। माग बढी भयो भने त ट्याक्सी छँदै छ। "नेपालीहरू तरकारी त फलाउँछन् तर बेच्न जान्दैनन्," कृषि सेवा केन्द्र हेम्जाका प्रमुख गुरुप्रसाद अर्याल भन्छन्, "तर, चिनियाँहरूको तरकारी उत्पादन र बिक्री गर्ने तरकिा नै फरक छ। त्यसैले उनीहरू नाफा गर्न सफल भएका हुन्।"

टनेलमा तरकारी खेती गर्ने चिनियाँ खेती शैली र एकोहोरो परश्रिम देखेर धेरै हेम्जालीहरू जिब्रो काड्छन्। तरकारी उत्पादनको साढे दुई वर्षमै स्याङ् दम्पतीले आफ्ना बाबुआमालाई पनि यतै ल्याएको छ। स्याङ् भन्छन्, "काम गर्ने मान्छे नपाएपछि आफ्नै बाबुआमालाई ल्याएँ।" १२ लाख रुपियाँको लगानीमा सुरु भएको फार्मबाट उनी परविार पालेर कम्तीमा पनि वाषिर्क तीन लाख रुपियाँभन्दा धेरै नाफा गररिहेका छन्। तर, स्याङ् आफ्नो ठ्याक्कै आम्दानी भने खुलाउन चाहँदैनन्। मासिक १० हजार रुपियाँ दिने गरी दुई कामदार राखेका उनी भन्छन्, "परविार पालेर अलिअलि कमाएको छु।" बिजनेस भिसामा बस्दै आएको बताउने उनीहरूले जग्गाको भाडा वाषिर्क १ लाख २१ हजार रुपियाँ बुझाउँछन्।

नेपालमा बीउको समस्या रहेकाले स्थानीयको उत्पादन राम्रो नभएको अर्यालको बुझाइ छ। भन्छन्, "चिनियाँले आफ्नै देश वा अन्यत्रबाट खोजेर गुणस्तरीय बीउ ल्याएकाले राम्रो उत्पादन भएको हो।" उनको भनाइमा राम्रो बीउ दिन सके नेपाली किसानका उत्पादन पनि धेरै र गुणस्तरीय हुन सक्छन्।

उनीहरूले अहिलेसम्म फार्ममा स्थानीयलाई खासै प्रवेश दिएका छैनन्। अब भने सुरुमा पाँच जना स्थानीयलाई आफ्नो प्रविधि सिकाउने भएका छन्। स्याङ्को प्रश्न छ, "विदेशमा भन्दा थोरै दुःख गरेर यहीँ धेरै कमाउन सकिन्छ। नेपाली विदेश किन जाने ?"

Originally published in: Nepal National Magazine, Issue 556, July 28, 2013, Written by Janakraj Sapkota

1 comment: